सम्वोधन

यस कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु हुने अध्यक्षज्यू,
सम्माननीय राष्ट्रपतिज्यू,
माननीय मन्त्रीज्यू,
माननीय सांसदज्यूहरु,
जगतगुरू आचार्य श्री १०८ कृष्णमणिजी महाराज,
पत्रकार मित्रहरु तथा उपस्थित सम्पुर्ण भक्तजनहरु।
श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा श्रीकृष्ण मन्दिरको स्वर्ण महोत्सवको उपलक्ष्यमा नवनिर्मित श्रीकृष्णको भव्य एवम कलात्मक मन्दिरको उद्‍घाटन समारोहमा उपस्थित सम्पुर्ण भक्तजनहरुमा कर्मयोगी श्रीकृष्णको आध्यात्मिक ज्ञानले कर्म प्रतिको निष्ठा एवम समर्पण भाव प्रस्फुटित होस भन्ने कामना गर्दछु।
आध्यात्मिक चेतना अभिवृद्धिको यस पावन अवसरमा मलाई पनि सहभागि हुने अवसर प्रदान गर्नु हुने श्रीकृष्ण प्रणामी सेवा समितिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
भक्तियोग, ज्ञानयोग र कर्मयोगको सन्तुलित एवम व्यवहारिक प्रयोगमा योगेश्वर श्रीकृष्णका दिव्यवाणीहरुले दिशा निर्देश गर्ने विश्वास गर्न सकिन्छ। भक्तियोगले मन एवं भाव शुद्धी, ज्ञानयोगले विचार शुद्धी र कर्मयोगले उत्कृष्ट कर्मको खोज गरेको हुन्छ।सुकर्म, कुकर्म र अकर्मका अवस्था, तिनको फलप्राप्तीका विधी र पद्धतीका वारेमा योगेश्वर श्रीकृष्णले जत्तिको प्रकाश सम्भवतस् कसैबाट भएको छैन।कर्मफलको वैज्ञानिक आधार समेत कर्मयोगमा पाउँन सकिन्छ।निष्काम कर्मको अवधारणा कर्मवन्धनबाट मुक्तिको लागि हो।कर्मफल प्राप्त हुँदैन भन्ने होईन।फल वा नतिजा प्रतिको उच्च आसक्तिले कर्मको वा कार्य को प्रभावकारितामा असर गर्ने र त्यसले नतिजा प्रभावित गर्ने भएकोले निष्काम वा अकर्मको अवधारणा ल्याईएको हो भन्ने मलाई लाग्दछ।श्रीकृष्णका ज्ञानहरु सवै वर्ग, समुदाय, पेशाका व्यक्तिहरुलाई उत्तिकै लाभदायक छन।धार्मिक समुदाय मात्र होईन, राजकिय कार्यमा समेत श्रीकृष्णका वचनहरु उत्तिकै सान्दर्भिक छन्।
सामाजिक एवम धार्मिक सद्‍भाव, सहिष्णुता अभिवृद्धि गर्न, सामाजिक एवम साँस्कृतिक विचलन रोक्न, मानसिक एवम आध्यात्मिक श्रेष्ठता प्राप्त गरि आपराधिक गतिविधी रोक्न, समाजका सवै वर्ग, धर्म, समुदाय, भाषाभाषीका व्यक्तिहरु मिलेर राष्ट्रको सम्वृद्धि एवम विकासमा परिलक्षित गराउँन यस्ता धार्मिक कृयाकलापहरुले मद्धत पुर्‍याउनु पर्दछ।
श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव तथा नवनिर्मित मन्दिरको समुद्‍घाटनको स्वर्णिम यस अवसरले धार्मिक सद्‌भाव, सहिष्णुता अभिवृद्धि र सँस्कृतिको प्रवर्धन, साँस्कृतिक र पर्यटन विकासमा योगदान पुर्‍याउने विश्वास गरेको छु।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवर्धन गर्र्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।सम्विधानको भावना अनुसार धार्मिक सद्‌भाव, सहिष्णुता अभिवृद्धि र सँस्कृतिको प्रवर्धन तथा संरक्षण गर्ने कार्यहरुमा प्रदेश सरकारको सँधै साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।

योगेश्वर श्रीकृष्णका दिव्यवाणीहरुको अनुभूतिको स्तरमा प्रचार गरि सम्पूर्ण जनसमुदायमा सतोगुणको अभिवृद्धिमा श्रीकृष्ण प्रणामी सेवा समितिलाई पूर्ण सफलता प्राप्त होस भन्ने शुभकामना सहित मेरा भनाई अन्त्य गर्दछु।

धन्यवाद।